अपडेट

सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दै, आज प्रतितोला कति पुग्यो ?

शुक्रबार, १९ असार २०८३, ११ : १४

काठमाडौं– केही दिनदेखि ओरालो लागेको नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः तीव्र रूपमा उकालो लागेको छ। लगातार दोस्रो दिन पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि हुँदा शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो। बिहीबार मात्रै सुनको मूल्य ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो। यससँगै दुई कारोबार दिनमै सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले वृद्धि भएको छ।

यसअघि बुधबार सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा झरेको थियो। मंगलबार ४ हजार ५०० रुपैयाँ र सोमबार १ हजार ४०० रुपैयाँले मूल्य घटेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको थियो।

यसअघि बुधबार चाँदीको मूल्य १५ रुपैयाँ, मंगलबार २५ रुपैयाँ र सोमबार १५ रुपैयाँले घटेको थियो। पछिल्ला दुई दिनयता अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्वदेशी बजारमा पनि सुनचाँदीको मूल्य पुनः उकालो लागेको व्यवसायीहरू बताउँछन्।

शुक्रबार, १९ असार २०८३, ११ : १४

प्रतिक्रिया