मुस्ताङमा पर्यटकको आगमनमा नयाँ कीर्तिमान, एक महिनामै ८० हजार विदेशी पर्यटकको भ्रमण

शुक्रबार, १९ असार २०८३, ११ : ५३

मुस्ताङ– मुस्ताङमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। सन् २०२६ को जुन महिनामा मात्रै ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ पुगेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै चार गुणा बढी हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार जुन महिनामा मुस्ताङ आएका पर्यटकमध्ये ७८ हजार ६७० जना सार्क राष्ट्रका र एक हजार ५८३ जना अन्य मुलुकका छन्। कुल पर्यटकमध्ये ९८।०२ प्रतिशत सार्क राष्ट्रका रहेका छन् भने ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले जानकारी दिए।

तथ्याङ्कअनुसार सन् २०२५ को जुन महिनामा २० हजार ८६८ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। त्यसको तुलनामा यस वर्ष जुन महिनामा मात्रै ५९ हजार ३९५ पर्यटक थपिएका छन्।

यस्तै, सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनामा दुई लाख २२ हजार ९९२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको ९८ हजार ४८१ को तुलनामा एक लाख २४ हजार ५११ ले बढी हो।

एक्यापका अनुसार भारतीय पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। मुस्ताङ पुग्ने भारतीयमध्ये करिब ५० प्रतिशत आफ्नै निजी सवारीसाधनमा मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन्। उनीहरूको आगमनले मुस्ताङ मात्र नभई म्याग्दी, बाग्लुङ र पोखराका होटल तथा पर्यटन व्यवसायमा समेत उल्लेख्य चहलपहल बढाएको छ।

भारतीय पर्यटकको मुख्य गन्तव्य मुक्तिनाथ रहे पनि अन्य मुलुकका पर्यटक भने प्रायः राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गर्ने गरेका छन्। केही पर्यटक पोखरा–जोमसोम हवाईमार्ग तथा बेनी–जोमसोम सडकमार्ग प्रयोग गरेर पनि मुस्ताङ पुग्ने गरेका छन्।

एक्याप लोमान्थाङका अनुसार मुस्ताङ पुग्ने विदेशी पर्यटकमध्ये करिब तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन्।

शुक्रबार, १९ असार २०८३, ११ : ५३

प्रतिक्रिया