काठमाडौं- औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ९६६ वटा परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको छ।
प्रतिष्ठानका अनुसार सिफारिस भएका परियोजनाका प्रस्तावकले आफ्नो क्षेत्रअनुसार तोकिएका राष्ट्रिय वाणिज्य बैंकका शाखामार्फत आवश्यक प्रक्रिया पूरा गरी स्टार्टअप कर्जा प्राप्त गर्न सक्नेछन्।
प्रतिष्ठानले प्रारम्भिक छनोटमा परेका परियोजनामध्ये प्रस्तुतीकरण र बैंकद्वारा गरिएको कर्जा मूल्याङ्कन (क्रेडिट अप्रेजल)को संयुक्त नतिजाका आधारमा अन्तिम सिफारिस गरिएको जनाएको छ।
यसअघि प्रारम्भिक योग्य सूचीमा परेका १ हजार २९८ परियोजनाका प्रस्तावकलाई प्रस्तुतीकरणका लागि आह्वान गरिएको थियो। विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा आयोजित कार्यक्रममा १ हजार १५६ प्रस्तावकले आफ्नो परियोजना प्रस्तुत गरेका थिए।
प्रतिष्ठानका अनुसार मूल्याङ्कनका क्रममा परियोजनाको प्रस्तुतीकरण, वित्तीय अवस्था, फोटो तथा भिडियो, प्रश्नोत्तर र अन्य आवश्यक विवरणलाई आधार बनाइएको थियो। त्यसपछि मूल्याङ्कन समितिले दिएको अंक र बैंकको क्रेडिट अप्रेजलबाट प्राप्त अंक जोडेर अन्तिम मूल्याङ्कन गरिएको थियो।
कुल अंकभारमा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका प्रस्तावकमध्ये उच्च प्राथमिकताका आधारमा ९६६ परियोजनालाई कर्जाका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ।
अब सिफारिस भएका उद्यमीहरूले तोकिएका राष्ट्रिय वाणिज्य बैंकका शाखामा आवश्यक प्रक्रिया पूरा गरी सहुलियतपूर्ण स्टार्टअप कर्जा प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया