नेपाल–भारत आभूषण सहकार्य विस्तारमा जोड, भारतीय जीजेईपीसीका असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितलाई सम्मान

शनिबार, २० असार २०८३, ०९ : २३

काठमाडौं– नेपाल र भारतबीच रत्न तथा आभूषण व्यवसायमा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले भारतको Gem & Jewellery Export Promotion Council (GJEPC) का इन्टरनेशनल इभेन्ट्सतर्फका असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रममा मञ्चका अध्यक्ष खेम तिरुवाले दुवै देशका व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय प्रदर्शनीमा संयुक्त सहभागिता तथा व्यवसायिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले नेपाली आभूषण उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न जीजेईपीसीजस्ता संस्थासँगको सहकार्य अपरिहार्य रहेको बताए ।

WhatsApp Image 2026-07-04 at 6.12.49 AM (1)

अध्यक्ष तिरुवाले नेपाली व्यवसायीको सीप अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, नयाँ–नयाँ डिजाइनको आदानप्रदान तथा अन्तर्राष्ट्रिय बजारको खोजीका लागि संयुक्त पहल आवश्यक रहेको धारणा व्यक्त गरे । यस्ता सहकार्यले नेपालको आभूषण उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो ।

सो अवसरमा असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितले नेपाल र भारतबीच रत्न तथा आभूषण क्षेत्रको सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नियमित संवाद, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा संयुक्त सहभागिताले दुवै देशका व्यवसायीलाई लाभ पुग्ने बताए । उनले भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन परिषद् सकारात्मक रहेको धारणा राखे ।

सोही अवसरमा भर्खरै निर्वाचित नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष  बालकुमार  विश्वकर्मा (सुमन) तथा सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई, सम्मान तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

WhatsApp Image 2026-07-04 at 6.12.49 AM

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्री, निवर्तमान अध्यक्ष डम्बर बराईली, मञ्चका पदाधिकारी तथा विभिन्न क्षेत्रका सुनचाँदी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

छलफलका क्रममा आगामी दिनमा संयुक्त प्रदर्शनी आयोजना, व्यवसायिक भ्रमण, सीप तथा प्रविधि आदानप्रदान र व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक सहमति भएको जनाइएको छ।

शनिबार, २० असार २०८३, ०९ : २३

प्रतिक्रिया