काठमाडौं- नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर मानिसलाई ठगी गर्ने तथा उक्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले हालसम्म एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।
अनुसन्धानका क्रममा उनको विभिन्न डिजिटल खातामा ७,४८५ अमेरिकी डलर (करिब ११ लाख ४१ हजार ९८३ रुपैयाँ) मौज्दात रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले प्रजापतिविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार कानुनतः निषेधित छ।
प्रतिक्रिया