काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका पहिलो सय दिन उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।
शनिबार बुटवलमा आयोजित नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको बताए।
‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु,’ उनले भने।
वाम एकताबारे बोल्दै उनले तत्काल एकता हुने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार अहिले वाम शक्तिबीच सहकार्य र समन्वयमा जोड दिइएको छ। ‘वाम एकताभन्दा पनि कांग्रेस–एमालेलगायत सबैसँग सहकार्यको कुरा हो। अहिले एकताको कुरा छैन, सहकार्यमा समन्वय भइरहेको छ,’ उनले भने।
प्रशिक्षण कार्यक्रममा सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनाल लगायत शीर्ष नेताहरूको सहभागिता रहेको छ।
प्रतिक्रिया