पत्रकार महासंघलाई सञ्चारमन्त्रीको आग्रह– सडक होइन, संवादमा आउनुस्

आइतबार, २१ असार २०८३, १२ : ४९

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलनभन्दा संवाद र सहकार्यबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चार कानुन सुधार र पत्रकारितासँग सम्बन्धित विषयमा सरकार संवादका लागि सधैं खुला रहेको बताए।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए। उनले सञ्चारमाध्यमले सरकारमाथि तथ्य र प्रमाणका आधारमा खबरदारी गर्नुपर्नेमा जोड दिए।

सञ्चार क्षेत्रका समस्या विज्ञापन वितरण, कानुनी सुधार, पत्रकारको व्यावसायिक सुरक्षा र सञ्चार संस्थाको आर्थिक अवस्थासँग जोडिएको भन्दै उनले समग्र रूपमा समाधान खोज्न नेपाल पत्रकार महासंघलाई रचनात्मक संवादमा आउन आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता, सञ्चार कानुन र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहस आवश्यक रहेको बताइन्।

आइतबार, २१ असार २०८३, १२ : ४९

प्रतिक्रिया