सरकारको १०० दिनको कामप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी असन्तुष्ट, राष्ट्रियता र अर्थतन्त्रमा प्रश्न

आइतबार, २१ असार २०८३, १४ : ५२

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीले सरकारको पहिलो १०० दिनको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको निष्कर्ष निकाल्दै राष्ट्रियता, अर्थतन्त्र, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीले सार्वजनिक गरेको धारणा पत्रमा सरकारका केही मितव्ययिता र प्रशासनिक सुधारका प्रयासलाई सकारात्मक रूपमा लिइए पनि आर्थिक संकट न्यूनीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, उद्योग–व्यवसाय प्रवर्द्धन र सार्वजनिक सेवा सुधारमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिएको छ।

पार्टीले प्रधानमन्त्रीको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमिकता र सीमा सम्बन्धी विषयमा सरकारले स्पष्ट र दृढ धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ। साथै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी व्यवस्था तथा संविधानका उपलब्धिलाई कमजोर बनाउने गतिविधि बढेको दाबी पनि गरिएको छ।

भूमिहीन, सुकुम्बासी तथा उत्पीडित समुदायका समस्या बल प्रयोग नभई संवाद र न्यायपूर्ण समाधानमार्फत सम्बोधन गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी सिर्जना तथा लोकतान्त्रिक अधिकारको संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग पनि पार्टीले गरेको छ।

आइतबार, २१ असार २०८३, १४ : ५२

प्रतिक्रिया