काठमाडौं- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सुदृढ रहेकाले आगामी मौद्रिक नीति लचिलो (एकोमोडेटिभ) हुने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे आयोजित छलफलमा बोल्दै उनले हाल मूल्य स्थिरता, बाह्य क्षेत्रको अवस्था र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले मौद्रिक नीतिलाई थप कसिलो बनाउनु पर्ने अवस्था नरहेको बताए।
उनका अनुसार मौद्रिक नीति प्राविधिक विश्लेषणका आधारमा तय हुने विषय भएकाले बैंक दर, नीतिगत दर वा ब्याजदर कोरिडोरलाई कडा बनाउने आधार अहिले देखिँदैन। उनले राष्ट्र बैंकका प्राविधिक टोलीले विस्तृत अध्ययन र छलफलपछि मात्रै नीति निर्माण गर्ने उल्लेख गरे।
पूर्वगभर्नर अधिकारीले बजारमा पर्याप्त तरलता र मासिक करिब साढे दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिए पनि त्यसकै आधारमा दीर्घकालीन नीतिहरू हटाउनु उपयुक्त नहुने बताए। भविष्यमा आर्थिक दबाब सिर्जना भए त्यस्ता नीति पुनः लागू गर्न कठिन हुने भएकाले क्षणिक मागका आधारमा नीति परिवर्तन नगर्न उनले सुझाव दिए।
उनले आगामी मौद्रिक नीति दीर्घकालीन आर्थिक सुधार, आन्तरिक उत्पादन वृद्धि र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर ल्याइनुपर्नेमा जोड दिए।
प्रतिक्रिया