विश्व बैंकले नेपालमा ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ सुरु गर्यो, सरोकारवालाको धारणा संकलन गरिने

सोमबार, २२ असार २०८३, १३ : २७

काठमाडौं- विश्व बैंक समूहले नेपालमा आफ्नो कार्यसम्पादन, संलग्नता र विकास साझेदारीको प्रभावकारिताबारे सरोकारवालाहरूको धारणा संकलन गर्न ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ सुरु गरेको छ।

विश्व बैंकका अनुसार संस्थाको कार्यशैलीमा सुधार ल्याउने, विकास साझेदारीलाई थप प्रभावकारी बनाउने तथा नेपालको विकास प्रक्रियामा आफ्नो भूमिकालाई सुदृढ गर्ने उद्देश्यले सर्वेक्षण सञ्चालन गरिएको हो।

सर्वेक्षणमार्फत नेपाल सरकारका प्रतिनिधि, विकास साझेदार, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, सञ्चारमाध्यम तथा नागरिक समाजका संस्थाका प्रतिनिधिहरूको धारणा संकलन गरिनेछ। विश्व बैंकले नेपालका नेतृत्वदायी, प्रभावशाली व्यक्तित्व तथा नीति–निर्माण तहका व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरेको छ।

सर्वेक्षण प्रक्रिया निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउन विश्व बैंकले नेपालको स्वतन्त्र अनुसन्धान संस्था ‘फ्याक्ट्स नेपाल’लाई जिम्मेवारी दिएको छ। आगामी केही साताभित्र ‘फ्याक्ट्स नेपाल’का प्रतिनिधिहरूले सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी प्रश्नावली उपलब्ध गराउने र भरिएका फाराम संकलन गर्नेछन्।

विश्व बैंकले सहभागीहरूको व्यक्तिगत प्रतिक्रिया पूर्ण रूपमा गोप्य राखिने जनाएको छ। प्राप्त प्रतिक्रियालाई एकीकृत रूपमा विश्लेषण गरी नतिजा विश्व बैंकको नेपाल टोलीलाई उपलब्ध गराइनेछ, जसले भावी रणनीति, कार्यक्रम तथा कार्यशैली निर्धारणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर एस. आमिर अहमदले स्पष्ट, निष्पक्ष र इमानदार प्रतिक्रियाले संस्थालाई आफ्ना कार्यक्रम अझ प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने बताए।

सोमबार, २२ असार २०८३, १३ : २७

प्रतिक्रिया