नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाँण र रायमाझीसहित अधिकांश दोषी

बुधबार, २४ असार २०८३, १० : ०६

काठमाडौं– बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका अधिकांश प्रतिवादीलाई दोषी ठहर गर्दै सात जनालाई सफाइ दिएको हो।

अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वमन्त्रीका सल्लाहकार डा। इन्द्रजीत राई, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई दोषी ठहर गरेको छ।

त्यसैगरी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापाले भने आरोपबाट सफाइ पाएका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौं रुपैयाँ ठगी गरिएको आरोपमा यो मुद्दा दर्ता भएको थियो। लामो अनुसन्धान, बहस र सुनुवाइपछि अदालतले बुधबार आफ्नो फैसला सुनाएको हो।

अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण भने छुट्टै चरणमा गर्नेछ। उक्त सजाय निर्धारणपछि कैद, जरिवाना तथा अन्य कानुनी व्यवस्थाबारे अन्तिम आदेश जारी हुनेछ।

बुधबार, २४ असार २०८३, १० : ०६

प्रतिक्रिया