कम्बोडिया– कम्बोडियामा मानव बेचबिखन र साइबर अपराध नियन्त्रणदेखि निःशुल्क आँखा उपचार शिविरसम्म नेपाल–कम्बोडिया सहकार्य विस्तार, राजदूत धनबहादुर ओली र एनआरएनएको सक्रिय पहलमा सम्बन्धले नयाँ गति लिएको छ ।
पछिल्ला वर्षहरूमा अनलाइन ठगी तथा मानव बेचबिखनसँग जोडिएका केही घटनाका कारण कम्बोडियामा नेपाली समुदायमाथि परेको नकारात्मक प्रभावलाई चिर्दै नेपाली दूतावास थाईल्याण्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको संयुक्त सक्रियताले नेपालको सकारात्मक पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ।
एकातर्फ नेपाल र कम्बोडियाबीच मानव बेचबिखन, साइबर अपराध तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणमा सहकार्य विस्तार गर्ने उच्चस्तरीय समझदारी भएको छ भने अर्कोतर्फ हजारौं कम्बोडियाली नागरिकलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गरिएको मानवीय अभियानले नेपालप्रतिको विश्वास र सद्भावलाई थप मजबुत बनाएको छ।
नेपालका लागि कम्बोडिया हेर्ने राजदूत धनबहादुर ओली र कम्बोडियाको परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव ईट सोफिया बीच भएको उच्चस्तरीय भेटवार्तामा मानव बेचबिखन, अनलाइन स्क्याम, साइबर अपराध तथा अन्य अन्तरदेशीय अपराध नियन्त्रणमा संयुक्त रूपमा काम गर्ने सहमति भएको हो। भेटमा व्यापार, लगानी, पर्यटन, शिक्षा, कृषि, सार्वजनिक स्वास्थ्य तथा बौद्ध पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकताका साथ अघि बढाउने समझदारी बनेको दूतावासले जनाएको छ।
राजदूत ओलीले अनलाइन स्क्याम केन्द्रहरूबाट नेपाली नागरिकको उद्धारमा सहयोग पुर्याएकोमा कम्बोडिया सरकारप्रति आभार व्यक्त गर्दै अपराधमा संलग्न सीमित व्यक्तिका कारण सम्पूर्ण नेपाली समुदायलाई हेर्ने दृष्टिकोण बन्न नहुने बताए । उनले भने, ‘नेपाल र कम्बोडियाबीचको मित्रता केवल कूटनीतिक सम्बन्धमा सीमित छैन, यो मानवीय सहकार्य, स्वास्थ्य, पर्यटन र जनस्तरको विश्वासमा आधारित सम्बन्ध हो। यस्ता कार्यक्रमले दुवै देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपालको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछन्।’
यसैबीच, कम्पोङ चाम प्रान्तमा नेपाल नेत्रज्योति संघ, लुम्बिनी आँखा अस्पताल तथा अनुसन्धान केन्द्र, एनआरएनए कम्बोडिया र नेपाल दूतावासको समन्वयमा आयोजित बृहत् निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया शिविरले कम्बोडियामा नेपालको ‘स्वास्थ्य कूटनीति’को उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। हजारौँ बिरामीले विशेषज्ञ सेवा प्राप्त गरेका थिए भने सयौँ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो। कम्बोडियाली चिकित्सकलाई नेपालमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने सहमति समेत भएको छ।
कार्यक्रम सफल बनाउन एनआरएनए कम्बोडियाका पूर्वअध्यक्ष तथा हाल एसिया–प्यासिफिक क्षेत्रीय डीआरसी लाल सिंह खड्का,एनआरएनए दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्या, एनआरएनए कम्बोडियाका अध्यक्ष शिव पराजुली लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एनआरएनए कम्बोडियाका पूर्वअध्यक्ष खड्काले भने, विदेशमा बस्ने नेपालीहरू सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर छन् भन्ने सन्देश यो अभियानले दिएको छ। सेवामार्फत नेपालको सम्मान बढाउने यो प्रयास आगामी दिनमा पनि निरन्तर रहनेछ।’
एनआरएनए दक्षिण सुडानका अध्यक्ष कम्बोडिया निवासि रामप्रसाद पाध्याले नेपाली चिकित्सक र स्वयंसेवकको सेवाले कम्बोडियाली नागरिकको मन जितेको उल्लेख गर्दै भने, ‘मानवीय सेवा नै सबैभन्दा प्रभावकारी जनकूटनीति हो। यस अभियानले नेपालप्रतिको विश्वास र सद्भावलाई थप बलियो बनाएको छ।’ उनी यो कार्यक्रम सफल बनाउन दिन रात नभनी खटिएका थिए ।
एनआरएनए कम्बोडियाका अध्यक्ष शिव पराजुलीले कार्यक्रम सफल बनाउन नेपाली समुदाय, दूतावास, स्थानीय प्रशासन र स्वास्थ्य संस्थाबीच भएको समन्वय उदाहरणीय रहेको बताए । उनले भने, ‘पछिल्ला केही घटनाका कारण नेपाली समुदायमाथि बनेका नकारात्मक धारणालाई यस्ता सेवामूलक अभियानले सकारात्मक दिशामा परिवर्तन गर्न मद्दत गरेको छ। नेपाली समुदाय जिम्मेवार, अनुशासित र मानव सेवाप्रति समर्पित छ भन्ने सन्देश दिन हामी सफल भएका छौँ।’
उक्त कार्यक्रम सफल बनाएकोमा नेपाली राजदूतावासले एनआरएनए कम्बोडिया, कम्पोङ चाम चेम्बर अफ कमर्स, नेपाल नेत्रज्योति संघ, लुम्बिनी आँखा अस्पताल तथा अनुसन्धान केन्द्र, प्रादेशिक अस्पताल कम्पोङ चाम, चिकित्सक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।
नेपाल नेत्रज्योति संघका अनुसार कम्बोडियामा यस प्रकारको बृहत् निःशुल्क आँखा उपचार शिविर पहिलो पटक आयोजना गरिएको हो । कूटनीति, स्वास्थ्य सेवा र गैरआवासीय नेपाली समुदायको समन्वयमा सम्पन्न यस अभियानलाई नेपाल–कम्बोडिया सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ। यसले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै कम्बोडियामा नेपालको सकारात्मक छवि निर्माण, स्वास्थ्य सहकार्य विस्तार र जनस्तरको सम्बन्ध सुदृढ बनाउन दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
१२ सय भन्दा बढी चस्मा बितरण गरिएको उक्त कार्यक्रममा उल्लेखनीय कम्बोडियनहरुको उपस्थिति रहेको थियो । आँखा उपचारको लागि उपस्थित सबैलाई निशुल्क औषधी वितरण गरिएको थियो ।
प्रतिक्रिया