काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजुसम्बन्धी विषयमा विस्तृत अध्ययन तथा छलफल गर्न पाँच वटा उपसमिति गठन गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले विभिन्न मन्त्रालय तथा निकायका बेरुजु अध्ययन र छलफलका लागि पाँच उपसमिति गठन गर्ने निर्णय गरेको हो। समिति सभापति भरतबहादुर खड्काले उपसमितिहरूले सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी बेरुजु फर्स्योट प्रक्रियालाई प्रभावकारी बनाउने बताए।
समितिले तीन वटा उपसमितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिएको छ भने बाँकी दुई उपसमितिको संयोजकको जिम्मेवारी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रदान गरेको छ। यसअघि पाँचवटै उपसमितिको संयोजकमा रास्वपाले दाबी गरेको थियो।
सभापति खड्काले वर्षौंदेखि थुप्रिएका बेरुजु जटिल बन्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित निकायसँग व्यापक छलफल गरिने बताए। उनले समितिको मुख्य प्राथमिकता बेरुजुलाई कानुनी प्रक्रिया, वित्तीय अनुशासन र नियमअनुसार व्यवस्थित रूपमा फर्स्योट गर्दै न्यूनीकरण गर्ने रहेको स्पष्ट पारे।
लेखा समितिले उपसमितिहरूमार्फत विभिन्न सरकारी निकायका बेरुजुको अवस्था, समस्या र समाधानका उपायबारे अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया