काठमाडौं– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाबारे जानकारी दिँदै समितिले घटनाको समग्र पक्षको अनुसन्धान गर्ने बताए। उनका अनुसार घटनासँग सम्बन्धित सोधपुछका लागि काठमाडौं महानगर प्रहरीका तीन कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ।
घटनाबारे संसद्मा धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ केहीबेर भावुक बने। उनी आँखा रसाउँदै केही क्षण मौन बसेपछि मात्रै आफ्नो भनाइ अघि बढाएका थिए।
उनले जनताको सेवा भाषण र नाराले मात्र सम्भव नहुने भन्दै व्यवहारमै सेवा गर्नुपर्ने आवश्यकता औंल्याए। “घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५० औँ वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ,” उनले भने।
आफ्ना गतिविधिलाई केहीले ‘स्टन्टबाजी’ भन्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई अस्वीकार गरे। “मलाई कसैका लागि स्टन्टबाजी गर्नुपर्ने आवश्यकता छैन। म आफ्नो देशको सेवा गर्न आएको हो,” उनले संसद्मा भने।
गृहमन्त्री गुरुङले घटनापछि आफू र सुरक्षा निकायको टोली आवश्यक कदमबारे निरन्तर छलफलमा रहेको जानकारी दिँदै घटनाको आलोचना गरिरहेका सांसदहरूप्रति पनि प्रश्न उठाए।
“हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो, जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ?” उनले भने।
प्रतिक्रिया