काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै राज्यका निकायको असंवेदनशील र अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको दाबी गरेको छ। आत्मदाहको प्रयासपछि पनि जीवन बचाउन संवेदनशील भूमिका खेल्नुको सट्टा बल प्रयोग, जरिवानाको दबाब, धम्की र घिसारेर हिँडाउनेजस्ता व्यवहार गरिएको आरोप पार्टीले लगाएको छ।
नेकपाले लोकतान्त्रिक मुलुकमा यस्तो घटना हुनु राज्यको चरित्रमाथि गम्भीर प्रश्न उठाउने विषय भएको उल्लेख गर्दै बेरोजगार युवा, सुकुम्बासी, भूमिहीन, श्रमिक तथा उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय र न्यायोचित ढंगले सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
पार्टीले गणेश नेपालीको निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।
प्रतिक्रिया