ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल विजयी

आइतबार, २८ असार २०८३, १५ : ५३

काठमाडौं- ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल विजयी भएका छन् ।

परिषद्को आज सम्पन्न निर्वाचनमा डंगोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । डंगोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरेका थिए । 

परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे । कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको निर्वाचन अधिकृत पङ्गेनीले बताए ।

यस्तै, सदस्यहरुमा सुरेन्द्र डंगोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् ।

आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डंगोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

उनले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए । 

आइतबार, २८ असार २०८३, १५ : ५३

प्रतिक्रिया