काठमाडौं- सरकारले नयाँ प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। राहदानी विभागले सोमबार सूचना जारी गर्दै जर्मन कम्पनी म्युहलबउर (Mühlbauer) र भेरिडोस (Veridos) को नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु भएको जनाएको हो।
नयाँ प्रणालीको शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले सेवाग्राही ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी हस्तान्तरण गर्दै गरेका हुन्।
यसअघि नेपालका विद्युतीय राहदानीहरू फ्रान्सेली कम्पनी आईडिमिया (IDEMIA) ले करिब १५ वर्षदेखि छाप्दै आएको थियो। अब भने नयाँ ठेक्का व्यवस्थाअनुसार जर्मन कम्पनीहरूको प्रविधि र प्रणालीमार्फत राहदानी उत्पादन तथा वितरण प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
राहदानी विभागका अनुसार नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरिएको छ। नयाँ प्रणालीलाई क्रमशः स्थिर, सहज र प्रभावकारी बनाउने क्रममा सेवाग्राहीको सहयोग महत्वपूर्ण हुने विभागको विश्वास छ।
विभागले प्रणाली पूर्ण रूपमा स्थिर भएपछि राहदानी सेवा थप सहज, छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको जनाएको छ।
प्रतिक्रिया