रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास

बुधबार, ३१ असार २०८३, ११ : ११

काठमाडौं- रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

घटनालगत्तै उनलाई उद्धार गरी गरुडास्थित अस्पतालमा उपचारका लागि लगिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते सहनीलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

बुधबार, ३१ असार २०८३, ११ : ११

प्रतिक्रिया