‘म उद्यमी’ ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको साथ : प्रधानमन्त्री शाह

विहीबार, ३२ असार २०८३, १४ : ५८

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या र व्यवधान हटाउन सरकार सक्रिय रहेको बताए। उनले महिला उद्यमीका उत्पादनलाई देशका प्रमुख पर्यटकीय गन्तव्यमार्फत प्रवर्द्धन गर्ने वातावरण तयार गरिने पनि बताए।

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, महिला उद्यमीका वस्तु तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस–टु–बिजनेस (बी–टु–बी) कार्यक्रम र निर्यात प्रवर्द्धनका गतिविधिमा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

महासंघले अघि बढाएको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारी सहयोग आवश्यक रहेको उल्लेख गरेको थियो। त्यसप्रति प्रधानमन्त्री शाहले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी महासंघले वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य, सार्वजनिक खरिद प्रणालीमा महिला उद्यमीलाई प्राथमिकता दिने व्यवस्था तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्ने नीति लागू गर्न आग्रह गरेको छ।

महासंघका प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्यमीसम्म पुग्न नसकेको गुनासो गर्दै सहुलियत कार्यक्रम स्थानीय तहसम्म विस्तार गर्न, पुँजी अभावका कारण उद्यम बन्द हुने अवस्था रोक्न वैकल्पिक धितोको व्यवस्था गर्न तथा सहज कर्जा पहुँच सुनिश्चित गर्न माग गरेका थिए।

उनीहरूले महिला उद्यमीहरूको छाता संगठन महासंघलाई नीति निर्माण तथा सरकारी संयन्त्रका विभिन्न तहमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन महासंघ तयार रहेको जानकारी पनि गराएको छ।

विहीबार, ३२ असार २०८३, १४ : ५८

प्रतिक्रिया