निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को

शुक्रबार, ०१ साउन २०८३, १७ : १६

काठमाडौं- भारतले पहिलो निजी रूपमा विकसित कक्षीय–श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ । चन्द्रमा, मङ्गल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढाएको छ ।

भारतीय कम्पनी स्काइरुट एरोस्पेसले आगामी अगस्ट ४ भित्र ‘विक्रम–१’ रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय–श्रेणीको रकेट हुनेछ । यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्याउने लक्ष्य राखेको छ । भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्वपूर्ण उपलब्धि हुने जनाएको छ ।

सन् २०२० मा अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुला गरेयता भारतको आठ अर्ब ४० करोड अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ । हाल देशमा ४०० भन्दा बढी अन्तरिक्ष स्टार्टअप सक्रिय छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) सँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षाबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।

भारतले अन्तरिक्ष अन्वेषणमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ । सन् २०१४ मा भारत मंगल ग्रहको कक्षामा अन्तरिक्ष यान पुर्याउने पहिलो एसियाली राष्ट्र बनेको थियो । चन्द्रयान कार्यक्रमअन्तर्गत सन् २००८ को चन्द्र अर्बिटर, सन् २०१९ को असफल अवतरण प्रयास र सन् २०२३ को सफल रोभर अवतरणपछि भारत चन्द्रमामा सफलतापूर्वक मानवरहित यान अवतरण गर्ने विश्वको चौथो देश बनेको थियो ।

सन् २०२७ मा चन्द्रयान–४ मार्फत चन्द्रमाबाट नमूना पृथ्वीमा ल्याउने तथा सन् २०२८ मा शुक्र ग्रहको कक्षामा अन्तरिक्ष यान पठाउने योजना रहेको छ । ‘आदित्य’ सौर्य अभियानले सूर्यको बाहिरी तह र अन्तरिक्ष मौसमबारे अध्ययन गरिरहेको छ । इसरोको प्रविधि प्रयोग गरेर भारतले गहिरो समुद्री स्रोतको अध्ययनका लागि ‘मत्स्य’ नामक पनडुब्बी परियोजना पनि अघि बढाइरहेको छ ।

उपग्रह प्रक्षेपणमा पनि भारतले लागत–प्रभावकारी राष्ट्रको पहिचान बनाएको छ । इसरोले हालसम्म ४३० भन्दा बढी विदेशी तथा १४४ भन्दा बढी स्वदेशी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ र यसबाट ६० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ । श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्र विस्तार भइरहेका बेला तमिलनाडुको कुलसेकरपट्टिनममा दोस्रो स्पेसपोर्ट निर्माणाधीन छ ।

भारत सरकारले अन्तरिक्ष उद्योगको आकार सन् २०३३ सम्म ४४ अर्ब अमेरिकी डलर र सन् २०४० सम्म एक खर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । नासासँगै युरोपेली अन्तरिक्ष एजेन्सी, फ्रान्स, जर्मनी, इटाली, जापान र साउदी अरेबियासँग पनि भारतले अन्तरिक्ष सहकार्य विस्तार गरेको छ भने मानव अन्तरिक्ष उडान तयारीमा रुसले सहयोग गरिरहेको छ ।

निजी क्षेत्रमा स्काइरुटसँगै पिक्सेलले पृथ्वी अवलोकन उपग्रह विकास गरिरहेको छ । बेलाट्रिक्स एरोस्पेसले उपग्रहलाई अन्तरिक्षमा सञ्चालन गर्न आवश्यक इन्जिन प्रविधि विकास गरिरहेको छ भने अग्निकुल कोस्मोसले थ्रीडी–प्रिन्ट गरिएको रकेट इन्जिन प्रयोग गरेर साना प्रक्षेपण यान निर्माण गरिरहेको छ ।

भारतको अन्तरिक्ष उद्योग रक्षा क्षेत्रसँग पनि निकट रूपमा जोडिएको छ । प्रक्षेपण प्रणाली, रकेट इन्जिन, उपग्रह, मार्गनिर्देशन प्रणाली र एभियोनिक्स प्रविधि अन्तरिक्ष कार्यक्रमसँगै मिसाइल तथा सैन्य ड्रोन विकासमा पनि प्रयोग भइरहेका छन् । इसरोले रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) र भारत–रुसको संयुक्त ब्रह्मोस मिसाइल कार्यक्रमसँगको सहकार्यलाई निरन्तर विस्तार गरिरहेको छ । सन् २०२५ मा पाकिस्तानसँगको द्वन्द्वपछि भारतले रक्षा खरिदमा अरबौँ डलर लगानी बढाएको छ ।

यसैबीच इसरोले ‘गगनयान’ मानव अन्तरिक्ष अभियानको तयारी पनि तीव्र बनाएको छ । सन् २०२६ को अन्त्यदेखि चालकविहीन परीक्षण सुरु गर्ने योजना रहेको यस अभियानमार्फत अन्ततः तीन भारतीय अन्तरिक्षयात्रीलाई तीन दिनका लागि करिब ४०० किलोमिटर उचाइको कक्षामा पठाइने लक्ष्य छ । भारतले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् २०४० सम्म भारतीय अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउने दीर्घकालीन योजना पनि अघि बढाएको छ । रासस
 

शुक्रबार, ०१ साउन २०८३, १७ : १६

प्रतिक्रिया