काठमाडौं- कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पुगेका छन् ।
सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेका प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार मन्त्री लम्सालले भोलि शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
ती सडकको निरीक्षण सकेलगत्तै उनि नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए । स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिडेका मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली आएको बताइएको छ ।
कर्णालीका छ र सुदूरपश्चिमको बाजुरा जिल्लाको सडक पूर्वाधारलाई सुरक्षित बनाउन नयाँ आर्थिक वर्षको पहिलो दिनमै मन्त्री आफैँ राजमार्ग र सडक सञ्जालको अवस्था बुझ्न स्थलगत रुपमै निस्किनुले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ ।
प्रतिक्रिया