ताजा समाचार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एक महिनायताकै उच्च

सोमबार, ०४ साउन २०८३, ११ : ५५

काठमाडौं- संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावको प्रभाव अन्तर्राष्ट्रिय वित्तीय बजारमा देखिन थालेको छ। सोमबार कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ भने एसियाली सेयर बजारमा मिश्रित कारोबार भएको छ।

मध्यपूर्वमा तनाव चर्किएसँगै विश्वको समुद्री कच्चा तेल आपूर्तिको करिब २० प्रतिशत ओसारपसार हुने हर्मुज जलमार्ग प्रभावित हुन सक्ने आशंकाले तेलको मूल्यमा तीव्र वृद्धि आएको हो। अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप हवाई आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च स्तरमा पुगेको छ। अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) को मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। गत साताको अन्त्यमा दुवै सूचक चार प्रतिशतभन्दा बढीले उकालो लागेका थिए।

विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आएको वृद्धिले विश्वव्यापी मुद्रास्फीति पुनः बढ्न सक्ने र प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने योजनामा असर पर्न सक्ने चिन्ता बढाएको छ।

एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसले भू–राजनीतिक जोखिमका कारण तेल महँगिए पनि अमेरिकी मुद्रास्फीति घट्दो क्रममा रहेकाले तत्काल व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना कम रहेको बताएका छन्। तर, तेलको मूल्य लामो समयसम्म उच्च रहिरहे उपभोक्ताको खर्च घट्ने र आर्थिक वृद्धिमा दबाब पर्ने उनको भनाइ छ।

यता, एसियाली सेयर बजारमा भने मिश्रित कारोबार देखिएको छ। चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन गर्ने अपेक्षाले हङकङ र साङ्घाईका बजारमा उत्साह देखिएको छ। हङकङको प्रमुख सूचकाङ्क दुई प्रतिशतभन्दा बढीले बढ्दा साङ्घाई कम्पोजिट पनि १.३२ प्रतिशतले उकालो लागेको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि हरियालीमा रहे।

तर, अमेरिकी वाल स्ट्रिटका प्रमुख सूचकहरू गत शुक्रबार ओरालो लागेपछि सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने लगानीकर्ताले सतर्कता अपनाएका छन्। यसैबीच, सुरक्षित लगानीको माध्यम मानिने सुनको मूल्य ०.४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य एक प्रतिशतले बढेको अन्तरराष्ट्रिय बजारले देखाएको छ।

सोमबार, ०४ साउन २०८३, ११ : ५५

प्रतिक्रिया