ताजा समाचार

चोरी पैठारी र गुणस्तरहीन सामानविरुद्ध सरकार आक्रामक

सोमबार, ०४ साउन २०८३, १५ : ५०

काठमाडौं- बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानको बिक्री बढेको भन्दै सरकारले त्यस्ता गतिविधिमा संलग्न व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३/८४ मा बजार अनुगमनलाई थप प्रभावकारी बनाइने र कानुन उल्लंघन गर्ने व्यवसायीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने जनाएको हो।

विभागका अनुसार भौतिक बजारसँगै विभिन्न डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत पनि दैनिक उपभोगका खाद्यवस्तु, पेय पदार्थ तथा लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भन्दै उजुरी र जनगुनासो बढेका छन्। यसप्रति मन्त्रालय र विभागले गम्भीर चासो व्यक्त गरेका छन्।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै मिसावट, चोरी पैठारी, लेबलविहीन तथा न्यून गुणस्तरका वस्तुको उत्पादन, आयात वा बिक्री–वितरण दण्डनीय कसुर भएको जनाएको छ।

विभागले उत्पादन, पैठारी, ढुवानी, भण्डारण तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका मापदण्ड, सर्त र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

मन्त्रालयले बजार स्वच्छता कायम गर्न अनुगमनलाई अझ कडा बनाइने र उपभोक्ताको स्वास्थ्य तथा अधिकारमाथि खेलबाड गर्ने जो–कोही व्यवसायीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

सोमबार, ०४ साउन २०८३, १५ : ५०

प्रतिक्रिया