वैदेशिक रोजगारी ठगीमा पीडितलाई राहत, अब अनलाइनबाटै उजुरी दर्ता गर्न मिल्ने

मंगलबार, ०५ साउन २०८३, १४ : १९

काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित श्रमिकलाई सहज रूपमा न्याय दिलाउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा ‘उजुरी डट गभर्मेन्ट नेपाल’ पोर्टलको औपचारिक शुभारम्भ गरेका हुन्।

नयाँ प्रणालीमार्फत अब वैदेशिक रोजगारीका क्रममा ठगी, तोकिएभन्दा बढी रकम असुली, इजाजतपत्रबिना विदेश पठाउनेलगायतका समस्याबाट पीडित भएका व्यक्तिले विभागमा भौतिक रूपमा उपस्थित नभई आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन उजुरी दर्ता गर्न सक्नेछन्।

यसअघि उजुरी दिन काठमाडौंस्थित विभागमै पुग्नुपर्ने बाध्यता थियो। सीमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी फर्छ्योटमा ढिलाइ हुँदा पीडितले बसोबास, यातायात र अन्य खर्चसमेत व्यहोर्नुपरेको अवस्था थियो।

मन्त्री यादवले नयाँ प्रणालीले पीडितलाई मन्त्रालय र विभाग धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार उजुरीकर्ताले आवश्यक कागजात तथा प्रमाण संलग्न गरेर अनलाइनमार्फत निवेदन दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको प्रारम्भिक अध्ययनपछि दर्ता प्रक्रिया अघि बढाउनेछ।

उजुरी दर्ता भएपछि सम्बन्धित व्यक्तिलाई एसएमएस र इमेलमार्फत जानकारी पठाइनेछ। त्यसमा उपलब्ध हुने ‘ट्र्याकिङ कोड’ प्रयोग गरी उजुरीकर्ताले आफ्नो मुद्दाको अवस्था र प्रगतिबारे जुनसुकै बेला अनलाइनबाट जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।

विभागले उजुरी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीसँग ‘एपीआई इन्टिग्रेसन’ पनि गरेको जनाएको छ। यस व्यवस्थाअनुसार विभागबाट जारी हुने पक्राउ पुर्जी अब सिधै नेपाल प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुनेछ। यसले पक्राउ पुर्जी कार्यान्वयनमा हुने ढिलाइ घटाउनुका साथै आरोपित व्यक्ति विदेश फरार हुने जोखिम पनि कम हुने अपेक्षा गरिएको छ।

मन्त्री यादवले वैदेशिक रोजगारीका नाममा ठगी, अवैध रूपमा विदेश पठाउने र अत्यधिक शुल्क असुल्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै अनलाइन उजुरी प्रणालीले पीडितलाई छिटो, सहज र पारदर्शी रूपमा न्याय प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मंगलबार, ०५ साउन २०८३, १४ : १९

प्रतिक्रिया