काठमाडौं- जुम्लामा उत्पादन हुने स्याउको माग नेपाली बजारसँगै भारतीय बजारमा समेत बढ्दै गएको छ। स्वादिलो र गुणस्तरीय भएकाले ‘जुम्ली स्याउ’ उपभोक्ताको रोजाइमा पर्न थालेको हो।
कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १ करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो। उत्पादन भएकोमध्ये करिब ७० प्रतिशत अर्थात् १ करोड २६ लाख ५४ हजार केजी स्याउ नेपाली बजारमै खपत भएको छ।
गत वर्ष उत्पादनको करिब ३० प्रतिशत अर्थात् ५५ लाख ९१ हजार केजी स्याउ भारत निर्यात गरिएको थियो। भारत निर्यातबाट जुम्लाले ४१ करोड ३७ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।
जुम्लाको स्याउ भारतमा ‘पहाडी चिसो स्याउ’का रूपमा परिचित रहेको र त्यहाँका उपभोक्ताले रुचाउने गरेको अधिकारीले बताए। गत वर्ष प्रतिकेजी औसत ७४ रुपैयाँमा बिक्री गरी उक्त आम्दानी भएको हो।
स्याउको माग बढेपछि चालु आर्थिक वर्ष २०८३/८४ मा भारततर्फ करिब ८० करोड रुपैयाँ बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि उत्पादन बढाएर २ करोड ७० हजार केजी पुर्याउने लक्ष्यसहित स्याउ खेती विस्तारलाई प्राथमिकता दिइएको कृषि विकास कार्यालयले जनाएको छ।
जुम्ली स्याउको बाहिरी स्वरूप अन्य स्याउजस्तो आकर्षक नदेखिए पनि गुलियो स्वाद र गुणस्तरका कारण बजारमा माग बढ्दै गएको छ। नेपाली उपभोक्तासँगै भारतीय बजारमा समेत यसको पहिचान विस्तार भइरहेको छ।
हाल जुम्लामा करिब ४ हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् २ हजार १६० रोपनी क्षेत्रमा स्याउ बगैँचा विस्तार गर्ने लक्ष्य राखिएको छ।
उत्पादन र उत्पादकत्व वृद्धि गर्न गत पुसदेखि माघसम्म ८०० किसानलाई स्याउ बगैँचा काटछाँटसम्बन्धी अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। यसबाट स्याउको आकार, स्वाद, रङ र गुणस्तर सुधार भई किसानले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया