काठमाडौं– नेपालको सार्वजनिक ऋण दायित्व आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण वर्षभरिमा करिब ३ खर्ब ८५ अर्बले बढ्दै कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५ प्रतिशत बराबर पुगेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ७१ अर्ब १७ करोड र बाह्य ऋण १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४६।२३ प्रतिशत तथा बाह्य ऋणको हिस्सा ५३.७७ प्रतिशत रहेको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक ऋण ११.२५ प्रतिशतले वृद्धि भएको छ। कुल ३ खर्ब ८५ अर्ब ऋण वृद्धि भएकामध्ये खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। विदेशी विनिमय दरमा आएको परिवर्तनका कारण मात्रै सार्वजनिक ऋणमा ५५।५१ प्रतिशत बराबरको प्रभाव परेको कार्यालयले जनाएको छ।
महिनागत रूपमा हेर्दा सरकारले सबैभन्दा धेरै जेठमा ५३ अर्ब ७ करोड, चैतमा ४८ अर्ब ४१ करोड, फागुनमा ४५ अर्ब २५ करोड र साउनमा ४४ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ। वैशाखमा भने सबैभन्दा कम १८ अर्ब ३९ करोड रुपैयाँ ऋण परिचालन गरिएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा वर्षअन्तसम्म ४ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ७५ प्रतिशत हो।
प्राप्त ऋणमध्ये ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक तथा ८८ अर्ब ५० करोड रुपैयाँ बाह्य ऋण रहेको छ। लक्ष्यको तुलनामा आन्तरिक ऋण उठाउने प्रगति ९९ प्रतिशत पुगे पनि बाह्य ऋण प्राप्ति ३७.८८ प्रतिशतमा सीमित भएको छ। कुल ऋण प्राप्तिमध्ये आन्तरिक ऋणको हिस्सा ८०.२१ प्रतिशत र बाह्य ऋणको हिस्सा १९.७९ प्रतिशत रहेको छ।
यता, ऋण सेवा खर्चतर्फ सरकारले विनियोजन गरेको ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँमध्ये असार मसान्तसम्म ३ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरेको छ, जुन वार्षिक बजेटको ९३.९७ प्रतिशत हो। जीडीपीको आधारमा ऋण सेवा खर्च ५.८५ प्रतिशत पुगेको छ।
यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब ५० अर्ब ५६ करोड र ब्याज ६१ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। बाह्य ऋणतर्फ साँवा ६१ अर्ब ८४ करोड र ब्याज १२ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरिएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया