काठमाडौं– नेपालमा सुनचाँदी तथा रत्न–आभूषण क्षेत्रमा ठूलो संख्यामा विदेशी कालिगढ कार्यरत रहेको र यसबाट वार्षिक रूपमा अर्बौं रुपैयाँ विदेशिने भएकाले सरकारले स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा जोड दिन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीले माग गरेका छन् । कोषाध्यक्ष लकान्द्रीले सरकारले महासंघसँग सहकार्य गरेर प्रत्येक प्रदेशमा तालिम केन्द्र स्थापना गरे २० देखि ३० हजार नेपाली युवाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्न सक्ने बताएका छन् ।
उनका अनुसार, सुनचाँदी व्यवसाय नेपालको परम्परागत तथा सम्भावना बोकेको क्षेत्र भए पनि दक्ष जनशक्ति अभावका कारण व्यवसायी विदेशी कालिगढमा निर्भर हुन बाध्य छन् । यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा परेको भन्दै उनले विदेशी कामदारलाई पारिश्रमिकका रूपमा अर्बौं रुपैयाँ बाहिरिने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
लकान्द्रीले सरकारले विभिन्न क्षेत्रमा सीप विकासका नाममा बजेट विनियोजन गरे पनि त्यसको अपेक्षित प्रतिफल नदेखिएको दाबी गरे । “तालिमका नाममा धेरै क्षेत्रमा बजेट खर्च भइरहेको छ, तर त्यसबाट रोजगारी सिर्जना भएको स्पष्ट देखिँदैन,” उनले भने, “यदि यही बजेटको केही हिस्सा सुनचाँदी तथा आभूषण क्षेत्रको सीप विकासमा लगानी गरियो भने हजारौं युवाले स्वदेशमै रोजगारी पाउनेछन् ।”
उनले प्रत्येक प्रदेशमा आधुनिक उपकरणसहितको तालिम केन्द्र स्थापना गरी सुन, चाँदी, हिरा, रत्न जडान, डिजाइन, कास्टिङ, पोलिसिङ तथा आधुनिक आभूषण निर्माणसम्बन्धी व्यावसायिक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । यस्तो कार्यक्रम सञ्चालन भए छोटो अवधिमै दक्ष जनशक्ति उत्पादन गर्न सकिने उनको विश्वास छ ।
महासंघले सरकारसँग समन्वय गरेर तालिम सञ्चालन गर्न पूर्ण रूपमा तयार रहेको पनि उनले बताए । आवश्यक प्रशिक्षक, प्राविधिक सहयोग तथा व्यवसायिक अभ्यासका लागि महासंघले सहकार्य गर्न सक्ने उनको भनाइ छ । “सरकारले बजेट सुनिश्चित गरिदिए हामी निजी क्षेत्रको अनुभव र पूर्वाधार प्रयोग गरेर गुणस्तरीय तालिम सञ्चालन गर्न सक्छौं,” उनले आजको अर्थ सँगको कुराकानीमा भने ।
लकान्द्रीका अनुसार, सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई उत्पादनमुखी उद्योग पनि भएकाले यसमा सीपयुक्त जनशक्ति तयार गर्न सके आयात प्रतिस्थापन, रोजगारी वृद्धि र राजस्व वृद्धिमा समेत सकारात्मक योगदान पुग्नेछ । साथै, नेपाली कालिगढ उत्पादन भएपछि विदेशी कामदारमा निर्भरता स्वतः घट्ने र मुलुकभित्रै आम्दानीको चक्र बलियो बन्ने उनले बताए ।
उनले सरकारले सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रलाई प्राथमिकतामा राखी तालिम सञ्चालनका लागि छुट्टै बजेट व्यवस्था गर्न आग्रह गरे । यसले बेरोजगार युवालाई सीप, रोजगारी र स्वरोजगारको अवसर प्रदान गर्नुका साथै विदेश पलायन कम गर्न पनि सहयोग पुग्ने उनको विश्वास छ ।
कोषाध्यक्ष लकान्द्रीका अनुसार, नेपालमा सुनचाँदी तथा आभूषण उद्योगको बजार विस्तार हुँदै गए पनि दक्ष नेपाली कालिगढको अभाव अझै चुनौतीका रूपमा रहेको छ । त्यसैले सरकारी–निजी साझेदारीमा तालिम कार्यक्रम सञ्चालन गरी स्वदेशी जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता भएको उनको निष्कर्ष छ ।
प्रतिक्रिया