काठमाडौं– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
सूचनाअनुसार आवेदन साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार मा दर्ता गराउनुपर्नेछ।
अर्थ मन्त्रालयले नेप्सेको नेतृत्व छनोट प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित बनाउन खुला प्रतिस्पर्धाबाट नयाँ सीईओ नियुक्त गर्न लागिएको जनाएको छ। आवेदनसँगै उम्मेदवारले शैक्षिक योग्यता, कार्यअनुभव तथा सूचनामा उल्लेख गरिएका अन्य आवश्यक कागजातहरू पनि पेश गर्नुपर्नेछ।
सिफारिस समितिले प्राप्त आवेदनहरूको अध्ययन, योग्यता मूल्यांकन र अन्तर्वार्तापछि उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि सरकारले अन्तिम निर्णय गर्दै नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।
नेपालको पूँजी बजार सञ्चालन गर्ने प्रमुख संस्था नेप्सेको नेतृत्व चयनलाई लगानीकर्ता तथा वित्तीय क्षेत्रले चासोका साथ हेरिरहेका बेला खुला प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व छनोट प्रक्रिया सुरु भएको हो।
प्रतिक्रिया