२४ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

मंगलबार, १२ साउन २०८३, १० : २२

काठमाडौं- देशका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा रहे पनि विभिन्न २४ जिल्लाका साना नदीहरूमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती लगायत प्रमुख नदी र तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि ती नदीहरूको बहावमा क्रमिक वृद्धि हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर हुँदै बग्ने साना नदीहरूमा आज बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ।

यस्तै बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाका साना नदी र खोल्साहरूमा पनि आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको विभागको पूर्वानुमान छ।

महाशाखाले भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा तथा पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही नदीहरूमा पनि बहाव एक्कासि बढ्न सक्ने जनाएको छ।

विभागले साना नदी, खोला र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, यात्रु तथा नदीजन्य गतिविधिमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार, १२ साउन २०८३, १० : २२

प्रतिक्रिया