काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले मधेश प्रदेशमा सुनचाँदी व्यवसायीमाथि भएको धरपकड तथा बजार अनुगमनको कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि व्यवसाय प्रचलित कानून, विधि र निर्धारित प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै कानूनको पालना गराउँदै स्वच्छ, पारदर्शी र मर्यादित व्यावसायिक वातावरण कायम गर्नु व्यवसायीको दायित्व भए पनि त्यसको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी राज्यको भएको स्पष्ट गरेको छ ।
विज्ञप्तिअनुसार महासंघले व्यवसायको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीलाई आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्दै आएको जनाएको छ । तर, मधेश प्रदेशमा सञ्चालित होटल नव्याका सञ्चालक तथा सुनचाँदी व्यवसायी एवं महासंघका द्वितीय उपाध्यक्ष सुधीर अग्रवालमाथि साउन ८ गते मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा अपनाइएको कार्यशैलीप्रति महासंघले असन्तुष्टि जनाएको छ ।
महासंघले कुनै पनि व्यवसायिक अनुगमन वा कानुन कार्यान्वयनको प्रक्रिया प्रचलित कानून, विधि तथा स्थापित प्रशासनिक प्रक्रियाअनुसार निष्पक्ष, पारदर्शी, मर्यादित र व्यवसायमैत्री ढंगबाट सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। कानुन कार्यान्वयनका नाममा कुनै पनि व्यवसायीको सम्मान, मनोबल तथा व्यावसायिक वातावरणमा प्रतिकूल असर पुग्ने कार्य स्वीकार्य हुन नसक्ने महासंघको भनाइ छ ।
घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा आगामी दिनमा हुने अनुगमन र कानुन कार्यान्वयनका कार्यहरू कानुनी प्रक्रिया, पारदर्शिता, मर्यादा र व्यवसायीको सम्मान सुनिश्चित हुने गरी सञ्चालन गर्न महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
साथै, महासंघले आफू कुनै एक क्षेत्र वा पेशामा आबद्ध व्यवसायीहरूको मात्र नभई नेपालभरका सम्पूर्ण उद्योगी–व्यवसायीहरूको हक, हित, सम्मान र व्यावसायिक सुरक्षाको संरक्षणका लागि प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ । साथै सबै व्यवसायीलाई प्रचलित कानून, नीति तथा नियमको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न पनि महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया