सुनसरीमा सेनाको हवाई गस्ती, ड्रोनबाट पनि निगरानी

बुधबार, १३ साउन २०८३, १६ : २३

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको क्षेत्रमा सुरक्षा अवस्था सामान्य बनाउन नेपाली सेनाले हवाई गस्ती गरेको छ। हाल क्षेत्रको अवस्था शान्त बन्दै गएको सुरक्षा निकायले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले हवाई गस्ती सञ्चालन गरेको हो। उनका अनुसार बुधबार अहिलेसम्म सुनसरीको अवस्था शान्त रहेको छ।

यसअघि कर्फ्यु आदेश जारी भएपछि नेपाली सेना फिल्डमा परिचालन गरिएको थियो। पैदल गस्तीका साथै हवाई गस्तीसमेत सञ्चालन गरी शान्ति–सुरक्षा कायम राख्ने प्रयास भइरहेको सेनाले जनाएको छ।

यसैबीच, नेपाल प्रहरीले पनि ड्रोनमार्फत कप्तानगञ्ज क्षेत्रको निगरानी गर्दै वस्तुस्थिति बुझ्ने काम गरिरहेको छ।

देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न तनावका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार राति २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

सुरक्षा निकायका अनुसार एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डिजे बजाएको विषयमा सुरु भएको विवाद झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्ने क्रममा एक जनाको मृत्यु भएको दाबी सुरक्षा निकायको छ।

घटनामा एक जनाको मृत्यु हुनुका साथै नौ जना सर्वसाधारण घाइते भएका थिए। त्यसपछि तनावग्रस्त बनेको क्षेत्र मंगलबार साँझ पुनः झडप, तोडफोड र आगजनीका घटनाले प्रभावित बने पनि बुधबारदेखि अवस्था क्रमशः सामान्य बन्दै गएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

बुधबार, १३ साउन २०८३, १६ : २३

प्रतिक्रिया