सुनसरी घटनाको छानबिन गर्ने प्रधानमन्त्रीको घोषणा

विहीबार, १४ साउन २०८३, २१ : ४३

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने बताएका छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न दोषी जो कोही भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याउन सरकार दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घटनामा घाइते भएकाहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिएका छन्।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। उक्त छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाउँदै उनले स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना रोक्न सुरक्षा निकायहरूलाई तत्काल घटनास्थलमा खटाइएको बताए।

विहीबार, १४ साउन २०८३, २१ : ४३

प्रतिक्रिया