काठमाडौं- बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको सूचना आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्यस्ता उत्पादनको बिक्री रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कडा निर्देशन दिएकी छन्।
निर्देशनलगत्तै विभागले बजार अनुगमन तीव्र पार्दै सयभन्दा बढी शंकास्पद उत्पादन नियन्त्रणमा लिएको जनाएको छ। ती उत्पादनको गुणस्तर र मौलिकता पुष्टि गर्न हाल प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।
मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताउँदै परीक्षणबाट दोषी पुष्टि भए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएकी छन्।
विभागका महानिर्देशक मोति सापकोटाले परीक्षण प्रतिवेदन आएपछि सम्बन्धित व्यक्ति वा संस्थाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। साथै, उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन भेटिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।
प्रतिक्रिया