आधारहीन समाचारको खण्डन गर्दै प्रभु बैंकको आधिकारिक धारणा सार्वजनिक

मंगलबार, १९ साउन २०८३, १३ : २१

काठमाडौं- प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित आफू सम्बन्धी समाचारहरू भ्रामक, आधारहीन र एकपक्षीय रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा बैंकको सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी, कर्जा प्रक्रिया र नियामकीय अनुपालनसँग सम्बन्धित विषयमा प्रकाशित सामग्रीले बैंकको प्रतिष्ठा, सेवाग्राहीको विश्वास तथा नियामकीय प्रक्रियामाथि अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरेको छ ।

बैंकका अनुसार कर्जा स्वीकृति, कर्मचारी व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापनका सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित कानुन तथा बैंकको आन्तरिक नीतिअनुसार सञ्चालन हुँदै आएका छन् । बैंकले नियामक निकायसँग पूर्ण सहकार्य गर्दै आवश्यक अनुसन्धान र परीक्षणमा सहयोग गरिरहेको पनि जनाएको छ ।

विज्ञप्तिमा केही व्यक्तिका विषयमा विभिन्न निकायबाट अनुसन्धान भइरहे पनि त्यसलाई आधार बनाएर बैंकको समग्र संस्थागत प्रणालीमाथि प्रश्न उठाउनु उचित नहुने उल्लेख गरिएको छ । बैंकले यस्ता विषयमा तथ्य र प्रमाणबिनै समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

प्रभु बैंकले आफ्ना निक्षेपकर्ता, शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकाय तथा सरोकारवालाप्रति बैंकको वित्तीय अवस्था, सञ्चालन र सेवा प्रवाह सुरक्षित, पारदर्शी तथा नियमित रहेको विश्वास दिलाएको छ । साथै बैंकले आधिकारिक सूचना तथा जानकारी बैंकका आधिकारिक माध्यमबाट मात्र लिन आग्रह गर्दै अफवाहमा विश्वास नगर्न अनुरोध गरेको छ ।

बैंकले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्दै निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको अपेक्षा गरेको उल्लेख गरेको छ ।
 

मंगलबार, १९ साउन २०८३, १३ : २१

प्रतिक्रिया