काठमाडौं- नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको अस्वाभाविक माग बढेकाले उपभोक्ताको आवश्यकताअनुसार आपूर्ति गर्न कठिन भइरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले ग्यास आयात विगतको तुलनामा बढेको भए पनि उपभोक्ताको अत्यधिक मागका कारण बजारमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए।
बरालका अनुसार एउटा सिलिन्डर अझै प्रयोग गर्न मिल्ने अवस्थामै अर्को सिलिन्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिका कारण वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएका छन्। उनले सर्वसाधारणलाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरे।
उनले निगमले भारतीय आयल कर्पोरेसनसँग आगामी दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास आपूर्तिको माग गरेको जानकारी दिए। यसअघि नेपालले मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएको थियो। तर भारतीय आयल कर्पोरेसनले मागअनुसार तत्काल थप ग्यास उपलब्ध गराउन नसकिने जानकारी दिएको उनले बताए।
बरालले दसैँ–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारले कूटनीतिक पहलमार्फत मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्ने विश्वास व्यक्त गरे।
उनले हाल देखिएको ग्यास अभावको समस्या आगामी दुई साताभित्र समाधान हुने अपेक्षा पनि व्यक्त गरे।
प्रतिक्रिया