काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) आपसी सहमतिमै दुई पक्ष अलग्गिएका छन् । पार्टीभित्र देखिएको वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदका कारण दुवै पक्षले सहमतिमै अलग–अलग रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेका हुन्।
विहीबार सार्वजनिक भएको सहमति पत्रअनुसार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी ९विद्रोही समूह० तथा जन–जी समूहबीच २०८२ मंसिर ७ गते भएको एकीकरणबाट बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई अब दुई छुट्टाछुट्टै पार्टीका रूपमा सञ्चालन गरिने भएको हो।
सहमति पत्रमा निर्वाचनपछि उत्पन्न भएका वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदका कारण एकीकृत पार्टी सञ्चालन गर्न व्यावहारिक कठिनाइ भएको उल्लेख गरिएको छ। साथै, निर्वाचन आयोगमा संगठनात्मक संरचना सम्बन्धी अध्यावधिक प्रक्रिया पनि पूरा हुन नसकेको जनाइएको छ।
सहमतिअनुसार दुर्गा सोब नेतृत्वको पक्षले पार्टीको नाम, झण्डा तथा निर्वाचन आयोगमा रहेको अभिलेख परिवर्तनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ। यस्तै, सन्तोष परियार नेतृत्वको पक्षले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम कायम राख्दै हालको ‘आँखा’ बाहेकको नयाँ निर्वाचन चिह्नसहित आयोगमा कानुनी प्रक्रिया अघि बढाउने भएको छ।
दुवै पक्षले अब आ–आफ्नो नाम, कार्यालय, विधान, संगठनात्मक संरचना, झण्डा र निर्वाचन चिह्न प्रयोग गरी स्वतन्त्र रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने तथा एक-अर्काको नाम, लेटरप्याड, झण्डा वा निर्वाचन चिह्न प्रयोग नगर्ने सहमति गरेका छन्।
यस्तै, एकीकृत पार्टीको अवधिमा भएका चल–अचल सम्पत्ति, आर्थिक स्रोत, बैंक मौज्दात, ऋण, दायित्व तथा अन्य आर्थिक हिसाब–किताब पारदर्शी र न्यायोचित ढंगले मिलान गरी सम्बन्धित पक्षले आफ्नो जिम्मेवारी बहन गर्ने सहमति पनि भएको छ।
सहमति पत्रमा यो निर्णयलाई विभाजन वा आपसी विरोधका रूपमा नभई बदलिएको राजनीतिक परिस्थिति, समयको आवश्यकता र संगठनात्मक व्यवस्थापनको स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। साथै, भविष्यमा पनि दुवै पक्षले एक–अर्काको राजनीतिक पहिचान, स्वाभिमान र स्वतन्त्र निर्णयको सम्मान गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धता कायम राख्ने जनाइएको छ।

प्रतिक्रिया