नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

विहीबार, २१ साउन २०८३, १४ : ५१

काठमाडौं- नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट (सीए) नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारमध्ये साहलाई चार वर्षका लागि निगमको नेतृत्वको जिम्मेवारी दिएको हो।

मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट साह, प्यूठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव उत्कृष्ट तीन उम्मेदवारमा परेका थिए। मन्त्रिपरिषद्ले उनीहरूमध्ये साहलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा समेत कार्य गरिसकेका छन्। पेट्रोलियम पदार्थको आपूर्ति, वितरण र निगमको आन्तरिक व्यवस्थापनमा हासिल गरेको अनुभवका आधारमा उनलाई निगमको नेतृत्व सुम्पिएको बताइएको छ।

नवनियुक्त कार्यकारी निर्देशक साहसामु देशभर पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई अझ प्रभावकारी र भरपर्दो बनाउने, वितरण व्यवस्थापन सुदृढ गर्ने तथा निगमको भण्डारण क्षमता विस्तार गर्ने प्रमुख चुनौती रहनेछ।

सरकारले कम्तीमा ९० दिनको राष्ट्रिय माग धान्न सक्ने पेट्रोलियम पदार्थको भण्डारण पूर्वाधार निर्माण गर्ने लक्ष्य अघि सारेको छ। उक्त योजना कार्यान्वयनलाई तीव्रता दिनु साहको प्रमुख जिम्मेवारीमध्ये एक हुने अपेक्षा गरिएको छ।

विहीबार, २१ साउन २०८३, १४ : ५१

प्रतिक्रिया