काठमाडौं - दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३ सय ३६ हेक्टरमध्ये झण्डै ५० प्रतिशत जमिनमा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र घोराहीका अनुसार जिल्लाको धान खेती हुने कुल ३७ हजार २ सय २५ हेक्टर जमिनमध्ये बुधबारसम्म ३४ हजार ९ सय ९१ हेक्टर खेतमा धान रोपाईं सकिएको छ । कार्यालयले हालसम्म ९४ प्रतिशत खेतमा धान रोपाईं भएको जनाएको छ ।
जिल्लाको देउखुरी क्षेत्र लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गरी चारवटा पालिकामा सिंचाई सुविधा भएका कारण समयमै धान खेती भएको छ । घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७ सय ९५ हेक्टर, दंगीशरण गाउँपालिकामा तीन हजार ४ सय १२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २ सय ८० हेक्टर र लमही नगरपालिकामा तीन हजार २ सय ५० हेक्टरमा धानखेती हुँदै आएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, राप्ती गाउँपालिकामा तीन हजार २ सय ४५ हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार १ सय ३ हेक्टर, शान्तिनगर गाउँपालिकामा दुई हजार ७ सय ५० हेक्टर, बबई गाउँपालिकामा दुई हजार १ सय ५० हेक्टर तथा बङ्गलाचुली गाउँपालिकामा एक हजार १ सय ४३ हेक्टर क्षेत्रमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्र दाङका वरिष्ठ कृषिप्रसार अधिकृत आशा भण्डारीले जानकारी दिए ।
कार्यालयकाअनुसार दाङमा सावित्री, मसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ लगायतका वर्णशंकर जात र कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती हुँदै आएको छ । त्यस्तै तिल्की र सिम्ठारो धान पनि किसानले खेती गर्दै आएका छन् । जिल्लाको स्थानीय जातको धान भएकाले किसानहरुले पछिल्लो अवस्थामा पुनः तिल्की र सिम्ठारो खेती गर्न थालेका हुन् । गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा एक लाख ४४ हजार २ सय ६४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रतिक्रिया