कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा फिर्ता

शुक्रबार, २२ साउन २०८३, ११ : २८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ बजेट फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा डा। कोइरालाले आर्थिक अभाव र कठिनाइमा रहेका आम नागरिकको हितलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त बजेट अन्य आवश्यक क्षेत्रमा खर्च गर्न अनुरोध गरेका हुन्।

उनले विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले निर्माण गरेको ऐतिहासिक ‘कोइराला निवास’ गत वर्षको जनआन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको उल्लेख गरेका छन्। यद्यपि त्यसको संरक्षणका लागि छुट्याइएको बजेट वर्तमान परिस्थितिमा नैतिक रूपमा स्वीकार गर्न नसकिने उनको धारणा छ।

पत्रमा कृष्णप्रसाद कोइरालाले सुरु गरेको शैक्षिक तथा सामाजिक जागरण अभियानलाई बीपी कोइरालाको नेतृत्वमा सम्पूर्ण परिवारले अघि बढाएको स्मरण गर्दै ‘कोइराला निवास’ नेपाली लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनाको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरिएको छ।

डा। कोइरालाले बीपी कोइरालाले जीवनभर गाउँ, गरिब र किसानको पक्षमा संघर्ष गरेको स्मरण गराउँदै, उनीप्रति सच्चा सम्मान प्रकट गर्ने उचित उपाय अहिले ‘कोइराला निवास’का लागि छुट्याइएको बजेट फिर्ता गरी जनताका अत्यावश्यक आवश्यकता पूरा गर्न उपयोग गर्नु नै हुने बताएका छन्।

शुक्रबार, २२ साउन २०८३, ११ : २८

प्रतिक्रिया