राम कार्कीले छाडे प्रलोपा

शुक्रबार, २२ साउन २०८३, १२ : २३

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता राम कार्कीले पार्टी छाडेको घोषणा गरेका छन् । उनले निर्वाचनको भूमरीमा परेपछि पार्टीमा वैचारिक विचलन आएको र त्यसै कारण संगठनात्मक रूपमा पनि विभाजित हुन पुगेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले विभाजनलाई शालीन र सौहार्दपूर्ण ढंगले अघि बढाएको भन्दै दुवै पक्षलाई धन्यवाद दिएका छन्। 

उनका अनुसार, पार्टीले निर्वाचनलाई प्राथमिकता दिनुभन्दा प्रगतिशील वैचारिक अभियानलाई प्राथमिकता दिएको भए परिणाम फरक हुन सक्थ्यो। तर निर्वाचनको राजनीतिमा केन्द्रित भएपछि पार्टी आफ्नो मूल वैचारिक अडानमा टिक्न नसकेको र नेताहरू विभिन्न पुराना राजनीतिक दलसँग नजिकिँदै गएको उनको भनाइ छ।

कार्कीले वैचारिक रूपमा पहिले नै विभाजित भएको पार्टी अहिले संगठनात्मक रूपमा पनि विभाजित हुनु स्वाभाविक भएको उल्लेख गर्दै यसलाई भद्र रूपमा सम्पन्न गरिएकोमा सन्तोष व्यक्त गरेका छन्।

उनले आफू भने सुरुदेखि नै पार्टीको कुनै कार्यकारी पदमा नरहेको उल्लेख गर्दै अब युवा पुस्ताको पहलमा निर्माणाधीन ‘मार्क्सिस्ट स्कुल अफ प्राक्सिस’मा आबद्ध भई वैचारिक अध्ययन र प्रशिक्षणसम्बन्धी काममा केन्द्रित रहने बताएका छन्। साथै, प्रलोपामा रहँदा सहकर्मीहरूले गरेको सहयोग र आत्मीयतालाई सधैं सम्झिरहने उल्लेख गरेका छन्।

शुक्रबार, २२ साउन २०८३, १२ : २३

प्रतिक्रिया