कपिलवस्तु- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको हो । उनले प्रयोग गर्ने मोटरसाइकलसमेत जंगलमै रोकिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरेर ‘जंगलमा बाटो बिर्सिएको’ बताएका थिए ।
त्यसपछि आफन्त, स्थानीय र प्रहरीले उनको खोजी सुरु गरेका थिए । खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल भेटिएको थियो ।
सिंह आफ्नो समूहले सञ्चालन गर्दै आएको कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो पर्ने भन्दै उनले जंगलको बाटो प्रयोग गरेको बताइएको छ ।
शुक्रबारदेखि प्रहरी, स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया