काठमाडौं- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राजनीतिक नेतृत्व र शासन सञ्चालन गर्ने निकाय अनुशासित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’मा बोल्दै ढकालले शासन सत्ताको स्रोत नागरिक भएकाले राज्य सञ्चालनमा आम नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए ।
उनले पहुँचका आधारमा काम हुने प्रवृत्तिले सुशासन कायम हुन नसक्ने बताए । सुशासनको जिम्मेवारी बोकेका पदाधिकारी र निकाय नै अनुशासनमा नरहे सुशासन सम्भव नहुने उनको भनाइ थियो ।
ढकालले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए । शासन सत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै निरन्तर खबरदारी आवश्यक रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे । राजनीतिक परिवर्तनसँगै विभिन्न स्थान तथा निकायका नाम परिवर्तन भए पनि सिंहदरबारको नाम भने यथावत् रहनु समयसापेक्ष नभएको उनको टिप्पणी थियो ।
उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ वा अन्य उपयुक्त नाम राख्न सकिने धारणा राखे । ‘हामीसँग सिंह नै छैन, तर त्यसको नाम सिंहदरबार नै छ,’ भन्दै ढकालले राजनीतिक परिवर्तनसँगै अन्य धेरै ठाउँको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम परिवर्तन हुन नसकेको बताए ।
प्रतिक्रिया