कञ्चनपुरमा कटुवा पेस्तोलसहित चार जना पक्राउ

मंगलबार, २६ साउन २०८३, १३ : १३

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट सोमबार खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ स्थित सालघारीबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेल्डाडी गाउँपालिका–३ का १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार शंकाका आधारमा चारै जनालाई सोधपुछ तथा चेकजाँच गर्दा उनीहरूको मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको थियो।

त्यसपछि थप अनुसन्धान गर्दा विपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकको डेरा कोठाबाट कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

मंगलबार, २६ साउन २०८३, १३ : १३

प्रतिक्रिया