फाइल फोटो
काठमाडौं– आगामी तीन दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आजदेखि नदीहरूको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बिहान ८ बजेको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीमा पानीको सतह सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हाल सामान्य अवस्थामा छ।
तर, आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य बढ्ने अनुमान छ। कर्णालीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ्ने महाशाखाले जनाएको छ।
भोलि र पर्सि भने देशभरका अधिकांश ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। तामाकोशीको बुस्ती जलमापन केन्द्रबाहेक कोशी, नारायणी, कर्णाली, महाकाली तथा कन्काई, कमला, बागमती र बबई जलाधार क्षेत्रका अधिकांश स्थानमा पानीको सतह निकै बढ्ने महाशाखाको अनुमान छ।
यसैगरी, आज सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत आसपासका जिल्लाबाट बहने साना नदीमा समेत बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाइएको छ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदीमा अचानक पानीको सतह बढ्न सक्नेछ भने पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका साना नदीमा आकस्मिक बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार आसपासका क्षेत्रमा काम गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया