काठमाडौं- सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको बिक्री आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ७६ करोड रुपैयाँ रहेको बिक्री आम्दानी समीक्षा अवधिमा घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। निर्माण क्षेत्रमा देखिएको सुस्तता तथा बजार मागमा आएको कमीका कारण बिक्री प्रभावित भएको देखिन्छ।
बिक्री आम्दानी घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ। यद्यपि, कम्पनीले अन्य आम्दानीबाट १३ करोड ३२ लाख रुपैयाँ प्राप्त गरेको छ।
कम्पनीले सञ्चालन खर्च भने नियन्त्रणमा राखेको छ। अघिल्लो आर्थिक वर्षमा ९३ करोड १६ लाख रुपैयाँ रहेको सञ्चालन खर्च समीक्षा अवधिमा घटेर ८० करोड ८१ लाख रुपैयाँमा झरेको छ। खर्च नियन्त्रणका कारण बिक्री आम्दानीमा आएको गिरावटको प्रभाव नाफामा सीमित रहेको देखिन्छ।
वित्तीय अवस्थातर्फ कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ छ। कम्पनीको तरलता अनुपात १.६४ गुणा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ३ पैसा कायम भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३ रुपैयाँ ७१ पैसा रहेको छ।
बिक्री आम्दानी र ग्रस प्रफिटमा गिरावट आए पनि खर्च नियन्त्रण तथा अन्य आम्दानीको सहयोगमा शिवम् सिमेन्टले नाफालाई तुलनात्मक रूपमा स्थिर राख्न सफल भएको देखिन्छ। निर्माण तथा पूर्वाधार क्षेत्रमा माग बढ्दै गएमा आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनमा सुधार आउन सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया