सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

शुक्रबार, २९ साउन २०८३, १३ : ४५

काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

शुक्रबार बिहान नेकपा एमालेको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

तोकिएको समयभित्र नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनसहित भट्टले सरकार गठनको दाबी पेस गरेका थिए। दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ। हाल सभामुख र एक जना निलम्बित सांसदलाई बाहेक नेकपाका २० र एमालेका ११ गरी ३१ सांसदको समर्थन भट्टलाई रहेको छ। यससँगै उनले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत जुटाएका छन्।

डडेल्धुरा प्रदेशसभा (क)बाट निर्वाचित भट्ट सुदूरपश्चिम प्रदेशका पाँचौं मुख्यमन्त्री बनेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै भट्टले प्रदेशका २७ लाख जनताको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएकाले आफूमा जिम्मेवारी र चुनौती दुवै थपिएको महसुस भएको बताएका छन्। उनले प्रदेशको विकास र जनताको अपेक्षा पूरा गर्न सरकार केन्द्रित हुने संकेत गरेका छन्।

शुक्रबार, २९ साउन २०८३, १३ : ४५

प्रतिक्रिया