काठमाडौं– भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले पुनः पदबहाली गरेका छन्। केही दिनअघि विशेष अदालतले उनी विरुद्ध दायर भ्रष्टाचार मुद्दामा सफाइ दिएपछि वादीले आइतबार नगरपालिकाको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।
भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि मेयर वादी निलम्बनमा परेका थिए। विशेष अदालतको फैसलाले आरोपबाट पूर्ण सफाइ पाएसँगै उनी पुनः नगरपालिकाको नेतृत्वमा फर्किएका हुन्।
पदबहालीपछि प्रतिक्रिया दिँदै मेयर वादीले आफूमाथि लगाइएका विभिन्न आरोप गलत साबित भएको बताएका छन्। उनले आफूविरुद्ध नियोजित ढंगले आरोप लगाइएको दाबी गर्दै अदालतको फैसलाले सत्य र न्यायको जित भएको बताए।
उनले आफूलाई बदनाम गर्ने प्रयाससँगै अपमान र आत्मसम्मानमाथि प्रहार गर्ने काम भएको उल्लेख गर्दै त्यस्ता प्रयासहरू निष्प्रभावी भएको बताए। विशेष अदालतबाट सफाइ पाउनु आफ्नो व्यक्तिगत विषय मात्रै नभई न्यायको जित भएको उनको भनाइ छ।
मेयर वादीले आफूविरुद्ध लगाइएका आरोपलाई एउटा व्यक्तिमाथिको आरोपका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्। उनका अनुसार, आफूजस्तै उत्पीडित वर्ग, दलित तथा सीमान्तकृत समुदायबाट नेतृत्वमा पुगेका व्यक्तिमाथि हुने व्यवहार र पूर्वाग्रहको समेत यस घटनाले प्रतिनिधित्व गरेको छ।
झुटा आरोप लगाएर आफूलाई बदनाम गर्ने प्रयास भए पनि अदालतको फैसलाले सत्य स्थापित गरेको दाबी गर्दै उनले अब नगरपालिकाको विकास र जनताको सेवामा केन्द्रित भएर काम गर्ने बताएका छन्। पदबहालीसँगै उनले रोकिएका कामलाई अघि बढाउने र नगरवासीप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया