काठमाडौं- चिनीको सहज आपूर्ति तथा पछिल्लो समय बढेको मूल्यबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको सहज आपूर्तिका विषयमा छलफल गर्न सोमबार बिहान १० बजे बैठक बोलाएको थियो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो।
समितिका सदस्यहरूसँगै चिनीको आपूर्ति तथा मूल्यसँग प्रत्यक्ष सम्बन्धित सरोकारवालाहरूलाई समेत बैठकमा बोलाइएको थियो। चिनीको आपूर्ति अवस्था, बजार मूल्य, मूल्यवृद्धिको कारण तथा उपभोक्ताले भोगिरहेको समस्याबारे छलफल गर्ने तयारी थियो।
तर समितिको सचिवालयले विशेष कारणवश बैठक स्थगित भएको जानकारी दिएको छ। बैठक स्थगित भएपछि चिनीको मूल्यवृद्धि र सहज आपूर्तिबारे तत्काल संसदीय छलफल हुने प्रक्रिया रोकिएको छ।
पछिल्लो समय बजारमा चिनीको मूल्य निरन्तर बढिरहेको छ। केही समयअघिसम्म खुद्रा बजारमा प्रतिकिलो करिब ९५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले बढेर १२० रुपैयाँसम्म पुगेको छ।
चिनीको मूल्यवृद्धिको विषयमा उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोपसमेत चलिरहेको छ। आपूर्ति, उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनका विषयमा फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। तर यसको प्रत्यक्ष असर भने उपभोक्तामाथि परेको छ।
चाडपर्व तथा अन्य समयमा चिनीको माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन तथा मूल्य नियन्त्रण गर्न सरकारमाथि दबाब बढिरहेको छ। यही अवस्थामा चिनीको सहज आपूर्ति र मूल्यवृद्धिबारे संसदीय समितिले छलफल गर्न लागेको थियो।
बैठक स्थगित भएपछि समितिले आगामी बैठकमा चिनीको मूल्यवृद्धि, आपूर्ति अवस्था र बजार व्यवस्थापनबारे थप छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया