वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

सोमबार, ०१ भदौ २०८३, १३ : १५

काठमाडौं- वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको कारखानाको वर्तमान अवस्था, विगतका निर्णय तथा यसअघि तयार भएका अध्ययन प्रतिवेदनबारे कार्यदलले अध्ययन गर्नेछ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ।

कार्यदलको संयोजकमा मन्त्रालयका सि.डि.ई. श्रीकान्त यादव रहेका छन् भने मन्त्रालय र उद्योग विभागका अधिकृत सदस्य छन्।

कार्यदलले कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था, भवन, मेसिनरी, पार्टपुर्जा र स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्था अध्ययन गर्नेछ। पुराना संरचना प्रयोग गरेर सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि आवश्यक पर्ने विषयमा समेत सुझाव दिनेछ।

प्रतिवेदनका आधारमा वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्नेबारे सरकारले आवश्यक निर्णय लिनेछ।

सोमबार, ०१ भदौ २०८३, १३ : १५

प्रतिक्रिया