हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका बानियाँले लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा बुझाएका हुन्।
साउन ६ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए। विश्वासको मत लिन सोमबार प्रदेश सभा बैठक बोलाइएको भए पनि बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत लिनुअघि नै राजीनामा दिएका हुन्।
१०४ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ। बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्रै थिए।
बानियाँ २० साउन २०८२ मा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए। एक वर्ष नपुग्दै उनको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।
अब प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन्।
प्रतिक्रिया